मालपोत कर्मचारीलाई घरमै बोलाएर गरिने जग्गा किनबेच कस्तो व्यक्तिले गर्न पाउँछन्? खर्च कति लाग्छ?

December,12 ,2022
linked hill

काठमाडौं। जग्गा किनबेच गर्ने भन्ने वित्तिकै मालपोत कार्यालयमै गएर लाइन लाग्नुपर्छ भन्ने धेरैलाई लाग्न सक्छ। तर मालपोतका कर्मचारीलाई घरमै बोलाएर् पनि जग्गा किनबेच गर्न सकिन्छ भन्ने धेरैलाई थाहै छैन।
हो मालपोतका कर्मचारीलाई आफ्नो घरमा बोलाएर पनि जग्गा किनबेच गराउन सकिन्छ। पछिल्लो समय मासिक हजारौ व्यक्तिले मालपोत कर्मचारीलाई घरमै बोलाएर घरजग्गा किनबेच गराउने गरेका छन्। जसलाई द्वार सुविधा वा डोर सुविधा भनेर भन्ने गरिन्छ।
अहिले त्यसरि सेवा लिने व्यक्तिहरुले मासिक १० औ लाख रुपैयाँ सेवा शुल्क मालपोत कार्यालयलाई तिर्दै आएको विभागको तथ्याङ्क छ।
यस्तो छ प्रक्रिया
सबैभन्दा पहिला जग्गा किन्ने मान्छेले आफूलाई डोर सुविधा चाहियो भनेर सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिनुपर्छ। निवेदन दिदा जग्गा किन्दा लाग्ने अनुमानित राजस्व रकम मालपोत कार्यालयमा अग्रिम जम्मा गर्नुपर्छ।
त्यसका अलवा निवेदन दस्तुर स्वरुप प्रति लिखत २ हजार देखि १५ हजार रुपैयाँ सम्म अतिरिक्त शुल्क लिने व्यवस्था छ।
पहाडमा भए गाउँपालिकाको २ हजार र नगरपालिकाको ५ हजार रुपैयाँ सेवा शुल्क तोकिएको छ। तराई क्षेत्रमा भए गाउँ पालिकामा ३ हजार र नगरपालिकामा ७ हजार रुपैयाँ सेवा शुल्क तिर्नसपर्छ।
काठमाडौं उपत्यकाको हकमा भने गाउँ पालिका भए १० हजार र नगरपालिका भए १५ हजार रुपैयाँ सेवा शुल्क तिर्नुपर्छ।
आफ्नो क्षेत्र अनुसारको निवेदन दस्तुर सहित आफूले किन्न चाहेको जग्गाको अनुमानित राजस्व रकम एकै पटक मालपोत कार्यालयमा जम्मा गर्नुपर्छ।
मानौ तपाईले किन्ने जग्गाको मूल्य एक करोड रुपैयाँ हो भने त्यसको ५ प्रतिशतले हुने रजिष्ट्रेशन शुल्क पाँच लाख रुपैयाँ र सेवा शुल्क वापत २ देखि १५ हजार रुपैयाँ सम्म मालपोत कार्यालयमा अग्रिम रुपमा बुझाउनु पर्छ।
त्यसरि अग्रिम रुपमा राजस्व तिरिसकेपछि मालपोत प्रमुखले कार्यालयबाट कर्मचारी खटाएर ५ दिन भित्र उक्त जग्गा किनबेच गराइदिनुपर्छ।
पहिले पहिले राणा र राजपरिवारको घरजग्गा किनबेच गर्दा यसरि घरमै गएर जग्गा किनबेच गराउने परिपाटीको विकास भएको थियो। पछि कानूनी रुपमा पनि डोर सुविधाको नाममा ठूला बडाहरुको जग्गा घरमै गएर किनबेच गराउने बाटो राखिएको छ।
केहि गरि जग्गा किनबेच हुन सकेन भने चाही ९० दिन भित्र मालपोत कार्यालयमा धरौटी राखिएको रकम फिर्ता लैजानु पर्छ। रकम लिन ढिलाई गरेमा उक्त रकम सरकारी खातामा जाने र पछि दावी गर्न नपाउने मालपोत ऐनमा उल्लेख छ।
राजपरिवारले ल्याएको चलन
मालपोतबाट खटिएको टोलिलाई घरजग्गा किनबेच गराएवापत अतिरिक्त शुल्क दिनुपर्ने कानूनी व्यवस्था छैन। तर राज परिवार र राणा परिवारमा गएर यसरि घरजग्गा किनबेच गराउँदा उनिहरुले कर्मचारीलाई केहि रकम बक्सिस स्वरुप दिने गरेका थिए।
खानपिन सहित उनिहरुलाई बाटो खर्च वापत राजपरिवारले स्वेच्छाले खर्च दिने गरेको इतिहाँस छ। यसैको आधारमा मालपोतका कर्मचारीहरु घरजग्गा किनबेच भइसकेपछि धेरै थोरै रकम खाजा खर्चको रुपमा देउन भनेर अहिले पनि आश गर्ने गर्छन।
करोडौ रुपैयाँको घरजग्गा किन्दा कर्मचारीलाई खाजा खर्च भनेर स्वेच्छाले दिन्छन् भने त्यसलाई अन्यथा मान्न हुन्न तर कर्मचारीले खरिदकर्ताबाट खाजा खर्च भनेर माग्नु चाही अनुचित हुने यस क्षेत्रका जानकारहरु बताउँछन्।
अहिले अशक्त व्यक्तिहरुको नाममा भएको जग्गा किनबेचका लागि डोर सुविधा लिनेहरु धेरै छन्। तर व्यक्तिले चाहेपछि जो कसैले पनि सेवा शुल्क तिरेर डोर सुविधाको लागि निवेदन दिन सक्छन्। 
तर मालपोत कार्यालयले भने धेरै राजस्व आउने ठाउँ भएमा मात्रै निवेदन उपर कारबाही गर्ने गरेका छन्।