काठमाडौं। भनिन्छ सेयर बजारमा १० प्रतिशतले सधै कमाउँछन् भने ९० प्रतिशतले घाटा खानुपर्छ। सेयरबाट कमाएमा मान्छे निर्धक्क संग मैले कमाए भन्दै मिडियामा आउँछन्। तर घाटा खाएको व्यक्तिले विविध कारणले मैले घाटा खाए भनेर भन्न सक्दैनन् र उनिहरुका कुरा मिडियामा पनि आउँदैनन्।
सेयर बजारमा भरखर भरखर प्रवेश गरेका युवाले बुझ्नै पर्ने कुरा के हो भने कुनै पनि सेयरको प्राथामिक मूल्य १०० रुपैयाँ मात्रै हुन्छ। पछि दोस्रो बजारमा उक्त कम्पनीको सेयर २००/३०० हुँदै एक हजार वा दुई हजार रुपैयाँ सम्ममा किनबेच हुन्छ। तपाइको सेयर मूल्य जति सुकै पुगेपनि कम्पनीले तपाइलाई चिन्ने भनेको उहि १०० रुपैयाँ लगानी गर्ने लगानीकर्ताकै रुपमा हो। कम्पनीले दिने बोनस पनि १०० रुपैयाँलाई आधार मानेर दिने हो। १० प्रतिशत लाभांस दिने भनेको १०० रुपैयाँको १० प्रतिशत हो। नकी तपाइले दोस्रो बजारमा किनेको हजार वा दुई हजार मूल्यको १० प्रतिशत हो।
कुनै कम्पनीले १०० प्रतिशत बोनस दिन्छ भने पनि तपाईलाई १०० रुपैयाँ मात्रै थपेर बोनस दिन सक्छ। त्यस्तो बेलामा उक्त कम्पनीमा कति रुपैयाँ लगानी गर्दा उचित हुन्छ भन्ने निर्णय लिने तपाइलेनै हो।
नेपालको सेयर बजारमा नगद भन्दा बढी बोनस सेयर लाभांस दिने चलन छ। सेयर लाभांस दिदा तपाईको खातामा सेयरनै थपिन्छ। त्यसलाई दोस्रो बजारमा बेचेर नगदमा परिणत गर्नुपर्छ।
तर यसो भनिरहँदा लाग्न सक्छ १०० प्रतिशत बोनस दिने कम्पनी त बजारमा १/२ वटा भन्दा बढी छैनन्। अनि एक हजार रुपैयाँ भन्दा बढी सेयर मूल्य भएका त दर्जनौ कम्पनी छन्। ती कम्पनीमा लगानी गर्दा डुबिन्छ त?
कहिलेकाही सेयर बजारमा लाभांस मात्रै नहेरेर कम्पनीको छवी पनि हेरिन्छ। अथवा एउटा लुगा बाटोमा किन्दा ५०० रुपैयाँ पर्छ भने त्यहि लुगा पसलमा किन्दा एक हजार र सपिङ मलमा किन्दा दुई हजार रुपैयाँ पर्छ। उहि कपडामा फरक फरक मूल्य हाल्न हामि किन तयार भयौ त?
किन भने मलमा बेच्ने कपडा राम्रो र महंगो ब्राण्डको हुन्छ भन्ने हामिलाई भान परिसकेको हुन्छ। त्यसै गरि सेयर बजारमा पनि कुनै कुनै कम्पनीहरु यस्तै ब्राण्ड बनिसकेका हुन्छन् जसको १० प्रतिशत बोनस खान पनि लगानीकर्ताहरु हजार वा दुई हजार रुपैयाँ हाल्न तयार हुन्छन्। तर ब्राण्ड नबनेको कम्पनीको २० प्रतिशत बोनस खान ३०० रुपैयाँ हाल्न पनि तयार हुनन्।
जस्तो नबिल बैंकले २० प्रतिशत बोनस दिदा पनि उसको सेयर मूल्य १२/१३ सय रुपैयाँ हाल्छन्। त्यतिनै बोनस दिने अर्को कुनै बैंकको सेयर मूल्य भने ३०० रुपैयाँ मात्रै हुन्छ। त्यो भनेको ब्राण्डको मूल्य हालेका हुन्।
अव नयाँ लगानीकर्ताले ब्राण्ड बनेको कम्पनीको सेयर किन्ने की राम्रो लाभांस दिने नाम नचलेको कम्पनीको सेयर किन्ने त?
कम्पनीको सेयर मूल्य जति धेरै हुन्छ जोखिम पनि त्यतीनै धेरै हुन्छ। सेयर मूल्य जति कम हुन्छ जोखिम पनि त्यतिनै कम हुन्छ। नयाँ लगानीकर्ताले कम जोखिम हुने कम्पनीको सेयर किनेर बजार प्रवेश गर्नु उपयुत्क हुन्छ। त्यसपछि बिस्तारै अरु कम्पनीको सेयरमा लगानी गर्नुपर्छ।
आज किनेर भोलिनै नाफा खाएर सेयर बेच्ने सपना देखेर कहिलेइ पनि बजार प्रवेश गर्नुहुँदैन। बजारमा कम्तिमा ३ महसना सम्म कुर्न सक्ने भए मात्रै बजार छिर्नु पर्छ। किनभने हरेक ३/३ महिनामा कम्पनीको नाफा नोक्सान सहितको वित्तीय विवरण सार्वजनिक हुन्छ। उक्त विवरणमा धेरै नाफा कमाएको सार्वजनिक भयो भने तपाईको सेयरको मूल्य पनि बढ्छ। धेरै नाफा कमाउन सकेन भने मूल्य घट्छ।
अव के मूल्य घट्यो भनेर सेयर बेचेर बजारबाट भाग्ने त? होइन तपाईले छानेको कम्पनीले नाफा गर्न सकेन भने राम्रो नाफा गर्ने कम्पनीमा लगानी गर्नुपर्छ। एक वर्ष कुर्दा त करिब करिब सबै कम्पनीले बोनस दिन्छन्। कुनै कुनै कम्पनीले भने २/३ वर्षमा एकै पटक पनि बोनस दिन सक्छन्। त्यसैले किनिसकेपछि पर्खिने हिम्मत भने राख्नै पर्छ।
एउटा बुझ्नै पर्ने कुरा के हो भने तपाई सँग पैसा छ भने बैंकमा राख्नु भन्दा सेयर बजारमा राख्दा बैंक ब्याज भन्दा बढी नाफा भने पक्कै हुन्छ। तर रातारात करोडपति नै बन्छु भन्ने सपना भने नव प्रवेशीले देख्नु हुँदैन।
बजार सधै बढिरहने र घटिरहने भन्ने हुँदैन। घटबढ हुने बजारको नियमै हो। बढ्दा हौसियर भकाभक सेयर किन्ने र घट्दा आत्तीयर घाटा खाएर सेयर बेच्नु हुँदैन। आत्तीने र मात्तिने प्रवृत्ती त्याग्ने बित्तीकै तपाइलाई बजारले न्यानो स्वागत गर्छ।