पतिको मृत्यु वा सम्बन्ध बिच्छेद भए पत्नीले पतिको अंश दावी गर्न पाउँछन्? यस्तो छ कानूनी प्रक्रिया

December,12 ,2022
linked hill

काठमाडौं। अदालतमा आउने मुद्दामा ५० प्रतिशत भन्दा बढी मुद्दा सम्पती तथा घरजग्गासँग सम्बन्धित हुन्छन्।
घरजग्गामा अंश दावी, सिमा विवाद, जालसाँझी, किर्ते लगायतका दर्जनौ महलमा मुद्दा पर्ने गरेका छन्। ती मध्येको एक हो पतिको मृत्यु पछि पत्नीले अंश दावी गर्दै मुद्दा हाल्नु।
सामान्यत पतिको मृत्युपछि पत्नीले पतिले पाउने अंशमा दावी गर्न पाउँछन्। तर त्यसमा केहि विशेष अवस्थाको वारेमा पनि व्याख्या गरिएको छ।
देवानी संहिता बिवाह महलको दफा ८३ ले कुनै पनि महिला वा पुरुषको पति वा पत्नीको मृत्यु भएपछि दोस्रो बिवाह गर्न पाउने अधिकार सुरक्षित गरेको छ।
अर्को तर्फ सोही ऐनको अंशबण्डाको महलको द्फा २१४ (२) ले अर्को बिहे गरि गएकी महिलाको पूर्व पति तर्फका सन्तान नहुँदा उनलाई अंशियार बनाएको छ।
अपुतालि क्रमको महलमा दफा २४६ ले मृतकको रीत परम्परा अनुसार सदगत किरिया कर्मको दायित्व पुरागरेकी एकल महिलाले मृतकको सन्तानलाई हालसम्म पलनपोषण गरिरहेको अवस्थामा उनले मृतक प्रतिको दायित्व पूरा गरेको मानि अपुताली खान पाउने व्यवस्था गरेको छ।
पहिलो, श्रीमानको मृत्युपछि श्रीमतीले उनको सदगत गरेर उनिबाट जन्मेका सन्तानको पालनपोषण गरिरहेको अवस्था छ भने उनले कानूनी रुपमा श्रीमानको अंश वा अपुतालीमा हकदावी गर्न पाउँछन्।
दोस्रो, श्रीमतिले दोस्रो बिहे गरेको खण्डमा भने उनले अंश वा अपुतालीमा हकदावी गर्न पाउँदैनन्। त्यसको लागि श्रीमानको मृत्यु पछि श्रीमतिले छोराछोरी पालेर बसेको अवस्थामा श्रीमानको सम्पती उनले आफ्नो नाममा अथवा आफू संरक्षक बसेर सन्तानको नाममा ल्याउन सक्छन्।
मृत्यु वा सम्बन्ध बिच्छेद भयो तर सन्तान भएनन् भने अंश दावी गर्न पाइन्छ?
यो अवस्था पनि श्रीमतीले श्रीमानको सम्पतीमा अंशदावी गर्न पाउँछन्। श्रीमानको मृत्यु भयो भने सन्तान नहुँदा पनि अंश दावी गर्न पाइन्छ। त्यसको लागि उनले अर्को बिहे गर्न भने पाउँदैनन्। श्रीमतीले अर्को बिहे गरेको खण्डमा भने उनको सम्पती श्रीमान पट्टिका अंशियारलाई हस्तान्तरण गर्नुपर्छ।
कानूनी रुपमा सम्बन्ध बिच्छेद छैन र श्रीमान संगै पनि छैनन् भने अंश दावी गर्न पाइन्छ?
कानूनी रुपमा सम्बन्ध बिच्छेद भएको अवस्था भए अदालतलेनै श्रीमतीको नाममा अंशबण्डा गरि दिन्छ। तर कानूनी रुपमा सम्‍बन्ध बिच्छेद नभएको तर श्रीमतीलाई छोडेर श्रीमान अन्यत्रै बसिरहेको अवस्थामा श्रीमतीले सम्बन्ध विच्छेदको मुद्दा हाले अदालतले श्रीमतिको नाममा अंशबण्डा गरिदिन्छ।
छोराछोरी पनि नभएको र संगै पनि नबसेको अवस्थामा के हुन्छ?
छोराछोरी पनि नभएको र श्रीमान संगै पनि नबसेको अवस्थामा पनि श्रीमतिले अंश दावी गर्न पाउँछन्। श्रीमानको सम्पतीलाई अदालतले दुवै जनाको नाममा गरिदिन्छ। छोराछोरी नभएपनि अंश दावी गर्न पाइन्छ। श्रीमतिले अर्को बिहे गरेको खण्डमा भने उक्त सम्पती श्रीमान पट्टिका अंशियारले पाउने कानूनी व्यवस्था छ।