४ आना भनेर किनेको जग्गा फिल्डमा ३ आना मात्रै भेटियो ? यी हुन् नापीसँग सम्बन्धीत जान्नै पर्ने ५ कुरा

August,08 ,2022
linked hill

बैशाख ८, काठमाडौं । तपाईंले लालपूर्जामा तोकेको क्षेत्रफल अनुसार जग्गा किन्दा फिल्डमा कम जग्गा पाउनु भएको छ ?

लालपूर्जामा लेखे अनुसार फिल्डमा जग्गा भेटिएन भने आफ्नो जग्गा कसरी पुर्‍याउने ? सकेसम्म त पूर्जा र फिल्डमा समान क्षेत्रफल एकिन गराएर मात्रै जग्गा किन्नु राम्रो हो ।

तर तपाईंले जग्गा व्यवसायी वा आफन्तको विश्वासमा फिल्ड ननापेरै जग्गा किनिसक्नु भयो र फिल्डमा थोरै जग्गा पाइयो भने तपाईंले नापी कार्यालयमा निवेदन दिएर पुनः नापजाँच गराउन सक्नु हुन्छ ।

जग्गा पुनः नाप्नको लागि के गर्नुपर्छ त ? 

नापी विभागका निर्देशक दामोदर ढकालका अनुसार फिल्डमा जग्गा कम भएमा नापी कार्यालयमा निवेदन दिनुपर्छ । अहिले जग्गा नापजाँचको लागि दिने निवेदनको ढाँचा विभाग र नापी कार्यालयको वेवसाइटमा पाइन्छ । निवेदनको ढाँचा पाउनु भएन भने हातैले लेखेको निवेदन दर्ता गराएर पनि काम लिन सकिने ढकालको भनाइ छ ।

तर निवेदनको साथमा सम्बन्धित जग्गा धनीको नागरिकताको फोटोकपी, लालपूर्जाको फोटोकपी र जग्गाको मालपोत तिरेको रसिदको फोटोकपी पनि बुझाउनुपर्ने नापी कार्यालय धनगढिका प्रवक्ता नवराज अधिकारीले बताए ।

निवेदन दिइसकेपछि नापी कार्यालयले कार्यालयबाट जग्गा रहेको ठाउँ सम्मको दुरीका आधारमा राजस्व निर्धारण गर्छ । उक्त राजस्व तिरेको रसिद नापी कार्यालयमा छोडेपछि तपाईंको निवेदन पाइपलाइनमा बस्छ ।

रुपैयाँ र समय कति लाग्छ ?

अन्य व्यक्तिको निवेदन नभएमा र नजिकै जग्गा रहेको खण्डमा भोलिपल्टै गएर नापी कार्यालयका कर्मचारीले जग्गा नापजाँच गरिदिन्छन् ।

तर पाइपलाइनमा धेरै निवेदन भएको खण्डमा भने तपाईंको पालो आउने २/३ हप्तासम्म पनि लाग्न सक्छ । सामान्यतया निवेदन दिएको एक/डेढ हप्ताभित्रै जग्गा नापजाँच भइसक्ने अधिकारीको भनाइ छ ।

नापी कार्यालयले नजिकै रहेका जग्गा नाप्न न्यूनतम २ हजार ५०० रुपैयाँ राजस्व लिन्छ । जग्गा रहेको ठाउँ धेरै टाढा भएमा यो रकम बढ्दै जान्छ ।

 

लालपूर्जामा उल्लेख भएकै जति जग्गा पाइन्छ ?

नापी कार्यालयको अमिनले नापेर छुट्ट्याएको जग्गा नै तपाईंको अन्तिम जग्गा हुन्छ । कहिलेकाँही तपाईंको जग्गा बढ्न पनि सक्छ र कहिलेकाँही जग्गा घट्न पनि सक्छ ।

 

सकेसम्म लालपूर्जामा उल्लेख भए अनुसार जग्गा किन्नु भन्दा अघि नै फिल्डमा जग्गा नापेर लिनु भयो भने राम्रो हुन्छ । यसरी फिल्डमा नापेर जग्गा किन्दा कम रहेछ भने तपाईंले कम जग्गाकै मूल्य हाल्न सक्नुहुन्छ । तर पछि नाप्दा कम जग्गा देखियो भने तपाईंले पैसा फिर्ता पाउने सम्भावना रहँदैन ।

 

सँदियारले नमानेमा के गर्ने ?

अमिनले जग्गा नाप्दा तपाईंको जग्गा दाँया बाँया परेको रहेछ भने उनीहरूले जग्गा देखाइ दिन्छन् । तर सँदियारले उपभोग गर्दै आएको जग्गा छोड्दैन भनेर झगडा गर्न थाले भने अमिनले केही पनि गर्न सक्दैनन् ।

त्यस्तो बेलामा वडा कार्यालय, गाउँ/नगरपालिका र प्रहरी प्रशासन बसेर मिलाउने प्रयास गर्नुपर्छ । त्यति गर्दा पनि तपाईंको सँदियारले नमानेमा भने जिल्ला अदालतमा गएर मुद्दा चलाउनुपर्छ । त्यसपछि अदालतको फैसला अनुसार प्रहरी प्रशासनले तपाईंको जग्गा छुट्ट्याईदिन्छ । सँदियारले फेरीपनि नमानेको खण्डमा उसलाई जरिवाना र कैद हुन सक्छ ।