यी हुँन सस्तो मूल्यमा जग्गा किन्न पाइने सहर उन्मुख ठाउँ, जहाँ जग्गा किन्दा छोटो समयमै हुनसक्छ दोब्बर

August,08 ,2022
linked hill

काठमाडौं। पहिले पहिले घरजग्गाको खरिदबिक्रि खेतीपाती र बसोबास गर्ने प्रयोजनका लागि मात्रै हुन्थ्यो। २/३ दशक यता व्यापारिक प्रयोजनका लागि पनि घरजग्गाको किनबेच भइरहेको पाइन्छ।

तर आजभोलि भने घरजग्गा लगानीको राम्रो क्षेत्र बनिसकेको छ। व्यवसायिहरुले पनि कुनैपनि व्यवसाय गर्दा बढी भन्दा बढी नाफा हुने क्षेत्र हेर्छन्।

त्यसैले पछिल्लो एक दशक देखि सिमित घरजग्गा व्यवसायिहरुले यो क्षेत्रबाट मनग्गे नाफा पनि कमाइरहेका छन्। त्यसको सिको गर्दै आजभोलि २/४ जना साथिहरु मिलेर एउटा प्लट जग्गा किन्ने र त्यसलाई प्लटिङ गरेर बिक्रि वितरण गर्ने चलन पनि बढ्दो छ।

तर म एक्लै जग्गा किन्छु र यसबाट नाफा गर्छु भन्ने मानिसहरुका लागि महंगिका कारण सबै ठाउँमा जग्गा किन्न सम्भव छैन। गाउँका दूरदराजका कुना काप्चाको जग्गामा लगानी गर्दा छोटो समयमा कुनैपनि लाभ लिन सकिदैन।

यहाँ केहि यस्ता ठाउँहरुको वारेमा जानकारी दिदै छौ जहाँ घरजग्गामा लगानी गर्न सके पछाडी फर्केर हेर्नु पर्दैन।

प्रदेश १

प्रदेश १ मा झापा, मोरङ र सुनसरी अहिले घरजग्गा कारोबारका लागि हटस्पट बनिरहेका छन्। यहाँ मासिक ३/४ हजार घरजग्गाको किनबेच हुनु सामान्य भइसकेको छ। जुन संख्यातमक हिसाबले देशका कुनै पनि ठाउँको भन्दा सबैभन्दा धेरै हो।

झापामा भद्रपुर, सुनसरीमा इटहरी र मोरङमा बेलबारी घरजग्गा कारोबारका लागि सम्भावना बोकेका ठाउँ हुन्। इटहरी उपमहानगरपालिका हो भने दमक र बेलबारी नगरपालिका मात्रै हुन्। संघियताको कार्यान्वयनपछि यी ठाउँको सम्भावना झनै बढेको हो। जनसंख्या र सहरी पूर्वाधारको मापदण्ड पुगेको खण्डमा यी ठाउँ उपमहानगर वा महानगरपालिका बन्न सक्ने ठाउँ हुन्।

यी नगरपालिकामा गाभिएका साबिकका गाविसहरुमा अहिले पनि प्रतिकठ्ठा दुई देखि पाँच लाख रुपैयाँ सम्ममा सहजै जग्गा किन्न सकिन्छ। जहाँ बाटो खोलेर दिने हो भने घडेरी जग्गा तत्कालै प्रति कठ्ठा १० लाख रुपैयाँमा किनबेच गर्न सकिन्छ।

प्रदेश २

अहिले प्रदेश २ मा जनकपुर, सप्तरी, महोत्तरी र सिराहा घरजग्गा कारोबारका लागि हटस्पट हुन्। यहाँ मासिक एक हजार देखि दुई हजार सम्म घरजग्गा किनबेच भइरहेका छन्।

धनुषामा जनकपुर, सप्तरीमा राजविराज, महोत्तरीमा जलेश्वर र सिराहमा लहान शहर उन्मुख बजार घरजग्गा किनबेचका लागि उपयुक्त हुन सक्छन्। जनपुर उपमहानगरपालिका हो भने अरु सबै नगरपालिका मात्रै हुन्। यी ठाउँमा पनि प्रतिकठ्ठा २ देखि ५ लाख रुपैयाँ सम्ममा बजार नजिक खेतहरु पाइन्छन्। जसलाई एक वर्ष राखेर खेतकै रुपमा बेच्दा पनि राम्रो राम्रो प्रतिफल पाउन सकिन्छ। घडेरीको रुपमा बेच्दा थप लाभ पाउन पनि सकिन्छ।

बागमति प्रदेश 

प्रदेश ३ मा चितवन, मकवानपुर, धादिङ, काठमाडौं र काभ्रेपलाञ्चोक घरजग्गामा लगानी गर्न उपयुक्त ठाउँ हुन्। यहाँ पनि कमासिक रुपमा एक हजार देखि २५ सय सम्म घरजग्गा किनबेच हुन्छन्।

काठमाडौं उपत्यकामा घरजग्गा जोड्न ठूलै पुँजि चाहिन्छ। यहाँ न्युतम प्रति आना १० लाख रुपैयाँ देखि १० करोड रुपैयाँ सम्मका घरजग्गा किनबेच हुन्छन्।

तर काठमाडौ बाहेकका यी अन्य ठाउँमा भने प्रति रोपनी ५ देखि १० लाख रुपैयाँमै घरजग्गामा लगानी गर्न सकिन्छ।

यी ठाउँमा मुख्य मुख्य बजारमा महंगो भएपनि नगरभित्र पर्ने अन्य ठाउँमा सस्तैमा जग्गा किन्न सकिन्छ। जहाँ वर्षेनी जग्गाको मूल्य बढेको बढेई भइरहेकोले तपाइको लागनीले राम्रो प्रतिफल दिने पक्का छ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा पोखरा सबै हिसाबले सम्भावना बोकेको ठाउँ हो। पोखरा महानगरपालिकामा जग्गा जोड्न काठमाडौं जतिकै महँगो छ। तर पोखरामा पनि लेखनाथमा भने सस्तैमा जग्गा किन्न सकिन्छ।

पछिल्लो समय पोखरा पछि तनहुँ घरजग्गा किनबेचको हटस्पट बनिरहेको छ। तनहुँमा प्रति रोपनी ५ देखि १० लाख रुपैयाँ सम्ममा राम्रै जग्गाहरु किन्न सकिन्छ। तनहुँ सदरमुकाम दमौली भने महँगो मध्यकै एक ठाउँ हो। तर दमौली आसपासका ठाउँमा भने सस्तो मूल्यमा पनि घरजग्गा जोड्न सकिन्छ।

यी ठाउँमा पनि अहिले मासिक एक देखि दुई हजार सम्म घरजग्गा किनबेच भइरहेका छन्।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा बुटवल, भैरहवा, दाङ र नेपालगञ्ज घरजग्गा किनबेचका लागि हटस्पट हुन्। बुटवल, दाङ र नेपालगञ्ज उपमहानगरपालिका समेत हुन्।

यहाँ मासिक एक हजार देखि दुई हजार २५ सय सम्म घरजग्गा किनबेच भइरहेका छन्।

भैरहवामा अन्तरार्ष्ट्रिय विमानस्थल देखि औद्योगिक हव सम्म बनिसकेकोले भैरहवा र बुटवल वरपर समेत जग्गाको मूल्य तिब्र रुपमा बढिरहेको छ। दाङ र नेपालगञ्ज (कोहलपुर बजार) भने पहाडी जिल्लाबाट बसाई सराई गर्नेको रोजाइमा पर्ने हुँदा यहाँ पनि दिनदिनै मूल्य महंगिदै गएको छ।

बजार क्षेत्रमा यहाँ पनि मूल्य धेरै बढीसकेकाले बजारबाट १/२ किलोमिटर वरपर घरजग्गा किन्दा तिब्र रुपमा मूल्य बढ्ने सम्भावना हुन्छ। यहाँ २/३ लाख देखि ५/६ लाख रुपैयाँ प्रतिकठ्ठाका दरले घरजग्गा किन्न सकिन्छ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा भने सुर्खेत घरजग्गाको मूल्य बृद्धिका हिसाबले उपयुक्त ठाउँ हो। यहाँ जग्गाको किनबेच मिटरका हिसाबले हुन थालेको छ। प्रति मिटर एक लाख रुपैयाँ देखि १० लाख रुपैयाँ सम्मका घरजग्गा किनेबच भइरहेका छन्।

सुर्खेतमा पनि मासिक एक हजार बढी घरजग्गा किनबेच हुने गरेका छन्।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा धनगढी र महेन्द्रनगर घरजग्गा किनबेचका लागि हटस्पट हुन्। धनगढी उपमहानगरपालिका हो भने महेन्द्रनगर नगरपालिका हो। यहाँ पनि मासिक एक हजार देखि १५ सय सम्म घरजग्गा किनबेच हुने गरेका छन्।

सिंगो सुदूरपश्चिममा तराईमा पर्ने दुई जिल्ला मात्रै भएको र आर्थिक गतिविधिको केन्द्र भएकाले धनगढी र महेन्द्रजगरमा घरजग्गाको मूल्य तिब्र रुपमा बढिरहेको छ।

यहाँ प्रति कठ्ठा पाँच देखि १० लाख रुपैयाँ सम्ममा बजार वरपर जग्गा किन्न सकिन्छ। जहाँ बाटो विकास गरेर घडेरीको रुपमा विकास गर्न सके छोटो समयमै राम्रो प्रतिफल पाइने पक्का छ।